२०७६ मंसिर २१, शनिबार
Close
-योगेन्द्र रावल सोमबार, भाद्र ३०, २०७६    १५:०५:०३

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्र सङ्घले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवाको परिभाषाभित्र समेटेर उनीहरूको प्राथमिकताको विषयसमेत तोकेको छ । यस्तै विभिन्न देशहरूले भिन्न–भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरिएको छ । यो उमेर समूहको नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसङ्ख्या (१ करोड ७ लाख) रहेको  छ । युवा समग्र जीवनको यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस सिर्जनशीलता, नवीन दृष्टिकोण सिक्ने क्षमता एवम् उच्च आत्मविश्वास हुन्छ । यी सबै गुण एउटै अवस्थामा देखापर्ने हुनाले मानवजीवनकै सर्वाधिक ऊर्जाशील समयको रूपमा युवा अवस्थालाई लिइन्छ । तद्अनुरूप आम–जनता र राष्ट्रले आशा र भरोसा गर्ने उमेर समूह पनि यही हो । तर विडम्बना हाम्रा युवाहरूमा केवल उमेर देखियो, न युवापन देखियो न युवामन देखियो ।
राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आएका युवाहरू राजनीतिक परिवर्तनपछि सधैँ भूमिकाविहीन बनाइयो भन्ने ठूलो जनमत नेपाली समाजमा व्यप्त छ । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मूलधारको राजनीतिबाट वञ्चित गराउने, वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधैँ खाडी मुलुकमा पठाउने मनोवृत्ति पाको नेतृत्वमा देखियो भन्ने मत नभएको होइन । तर नेपाली जनताले २०६२÷०६३ को जनआन्दोलनपछि राजतन्त्रको बिदाई गरी नेपाल देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रवेश गराएसँगै हामीले निर्माण गरेको स्थानीय, प्रदेश र सङ्घीय सरकार गरी तीन तहको सरकारमा युवाको राम्रो प्रयोग भएको देखिन्छ । सबैभन्दा तल्लो तह वार्डको कुरा गरौँ वा माथिल्लो तह सङ्घीय सरकारका थुप्रै युवा अनुहारहरूले समालेका मन्त्रालयका कुरा !

यी सबै क्षेत्रमा भ्रष्टाचार व्यप्त रह्यो । उमेरले २१, २२ वर्षे युवाहरूले नेतृत्व गरेका वार्डहरूको अवस्था र उमेरले ३५, ४० उमेर समूहको आसलाग्दो युवा नेताले चलाएको मन्त्रालयको अवस्था पनि नजिकबाट हेर्ने अवसर मिल्यो । बडो दुःखका साथ भन्नुपर्छ, नेपालको इतिहासमा सबैभन्दा ठूलो वाइडबडी भ्रष्टाचार काण्ड यिनै युवा नेतृत्वले समालेको मन्त्रालयमा भयो । त्यति मात्र होइन देशभरीका वार्ड, नगर र प्रदेश सरकारमा नेतृत्व गरेका युवाहरू देश र जनतालाई सेवा सुविधा होइन उल्टै जनभावनाविरुद्ध आफै नेता, आफै ठेकेदार भएर जनताको पसिनाको अवमूल्यन गरी देश लुट्ने प्रतिस्पर्धा गरिरहेका छन् । पार्टीको जिल्लादेखि केन्द्रस्तरका नेता कार्यकर्ताहरू सके आफै नसके साला साली, भाइ, भतिजा, मामा माइजु, आफन्तको प्रयोग गरी संस्थागत भ्रष्टाचारमा लिप्त छन् । कुनै पनि दलको जिल्लादेखि केन्द्रस्तरमा बसेका युवा नेताहरूले जनताको सेवामा नजुटी राष्ट्र निर्माणको महान अभियानमा नलागी दुई चार हजार भ्रष्टाचार गर्न उपभोक्ता समितिमा जान मरिहत्ते गर्न लाज लाग्नुपने हो । यो प्रवृत्ति हेर्दा हाम्रा युवाहरूमा न नवीन दृष्टिकोण देखिन्छ, न सिर्जनशीलता, देखिन्छ छ त केवल उपभोक्तावादी चिन्तन । यस्ता जन्मदै उपभोक्तावादी चिन्तन बोकेर देश लुट्ने सपना देखेका युवाहरूबाट राष्ट्रले के प्राप्त गर्न सक्छ ?

देशको पहिलो पुँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको यात्रामा उक्त सक्रिय जनसङ्ख्या (युवाहरू) को ठूलो भूमिका रहेको हुन्छ । हाम्रा युवाहरू देशभित्र आफूमा भएको सीप, क्षमता, दक्षता र योग्यताका आधारमा सिर्जनशील ढङ्गबाट महाअभियानमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणका लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन । तर हाम्रा राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश र जनताको लागि रगत बगाएका भन्दा ‘व्यक्तिको गुलामी’ गरेकाहरुलाई प्राथमिकता दिएका छन् । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउन सक्ने र नेतृत्वको चाकडी गर्नेलाई नेतृत्वमा स्थापित गर्ने परिपाटी देखिन्छ । यस्तो युवा नेतृत्वले राष्ट्रका लागि सुखद देखिँदैन ।
नेतृत्वको सपना देख्ने युवाहरूले आफूमा नेतृत्वका लागि चाहिने गुणहरूको पनि विकास गर्नु जरुरी हुन्छ । युवा नेतृत्व अवसर चुनौती दुवै हो तर हाम्रो नेतृत्व तहमा भएका चुनौतीको पर्खाल भत्काउन तत्पर देखिँदैनन् केवल अवसरको पछि मात्र दौडिरहेको देखिन्छन् । हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा आफूले भोग्नुपरेका चुनौतीका थुप्रै कुरा ग¥यौँ । तर आफूभित्रका सम्भावनाहरूलाई खोजी कहिल्यै गरेनौँ ।

समृद्धिको थालनी
समय, परिस्थिति फेरिएको छ तर नेपाली युवाहरू विभिन्न व्यवस्थाका नाममा रोमल्लिरहेका छन् । मिहिनेत गरेर देश निर्माणका लागि पसिना बगाउने युवाको खोजिरहेको छ तर हाम्रा तरुणहरू फेरि पनि रगत बगाउने, चन्दा आतङ्क फैलाउने बाटोमा दौडिरहेका छन् । यस्ता कार्य देशका लागि आवश्यक छैन भन्ने कुराको पुष्टि १० वर्षे सशस्त्र विद्रोहले गरिसकेको छ ।  यो प्रवृत्तिले हामीलाई कही पु¥याउँदैन । अब बदलिएको अवस्थालाई बुझेर देशलाई नवीन विचार प्रदान गर्न सक्ने युवा जनशक्ति आवश्यक छ । युवा परिवार, समाज र राष्ट्रकै सामाजिक आर्थिक एवम् सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न सक्ने सामथ्र्य हुनुपर्छ । युवाहरू समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ । युवा नेतृत्वले बोल्ने भाषा अरूका लागि मार्गदर्शन गर्न लायक हुनुपर्छ । युवाहरूले २१औँ शताब्दीमा बोल्ने वचन भोलिको दर्शन हुनुपर्छ ।

युवा नेतृत्वले देशका आम नागरिकहरूसँग गर्ने व्यवहार समाजका प्रत्येक सदस्यले अँगाल्न सक्ने हुनुपर्छ । हामी अहिले कस्तो समाजमा जीवन बिताइरहेका छाँै ? हाम्रा अगाडिका चुनौतीका पर्खालहरू के–के हुन् ? यी चुनौतीका पर्खालहरू भत्काउँदै सभ्य अनि सु–संस्कृत समाज निर्माणका लागि हामीले कुन–कुन क्षेत्रमा पहल गरिरहेका छौँ ? यी प्रश्नको उचित समाधान गर्न सक्ने ताकत भएको युवा नेतृत्व आजको आवश्यकता हो ।

फलस्वरूपः युवा नेतृत्वले एउटा कार्यक्रमभित्र जीवन खोज्ने होइन, नवीन दृष्टिकोणभित्र आफ्नो र आफू बसेको समाजको जीवन खोज्न सिक्नुपर्छ । नेपालको विकासको आधारशिला भनेको कृषि, जलस्रोत र पर्यटनलाई लिइन्छ । अब हामीले यी क्षेत्रका अध्ययनका लागि सिक्ने र सिकाउने पाठशाला खोल्न ढिलो गर्नु हुँदैन । जलस्रोतको यत्रो सम्भावना बोकेको हाम्रो मुलुकमा युवा जनशक्तिको विदेश पलायन रोक्न हाइड्रो विश्वविद्यालय र पर्यटन विश्वविद्यालय तत्काल खोल्नुपर्छ । नेपाली युवा विद्यार्थीहरू अनुुसन्धानमा आधारित विश्वका विभिन्न देश गइराखेका छन्, जसले गर्दा नेपालको ठूलो पुँजी विदेश पलायन भएको छ । त्यसैले तत्काल यी विद्यार्थीलाई हाम्रै विश्वविद्यालयमा फर्काउनका लागि हाम्रा अनुसन्धान केन्द्रहरूमा ठूलो सुधार गर्नुका साथै पर्याप्त विनियोजन गर्नुपर्छ । हुन त कलेजका गेटहरूमा बसेर विद्यार्थीहरूका परिचयपत्र बनाई कमिसन खाएर जीवन निर्वाह गर्ने र युवा विद्यार्थी राजनीतिलाई नै घृणित गराउने कार्य गर्ने युवाहरूको जमात पनि राजनीतिमा छन् तर यो प्रवृत्तिलाई निरुसाहित गरेर क्षमतावान् युवाहरूलाई अगाडि बढाउनु पनि हामी युवाहरूको दायित्व हो ।

आफैमा राजनीति गर्ने युवाहरू सबै खराब छैनन्, सबैलाई एउटै तहमा तुलना गर्नु हुँदैन । तर युवा राजनीतिमा शुद्धीकरण गर्नु जरुरी छ । राजनीतिमा थुप्रै युवाहरू नवीन दृष्टिकोणका साथ देश चलाउने सामथ्र्य पनि राख्दछन् । अन्ततः क्षमता वान् युवाहरूलाई बन्देज गरेर उपभोक्तावादी चिन्तन बोकेका, वैचारिक रूपमा स्खलित युवाहरूलाई राजनीतिमा राखिरहन्छाँै त्यो दिनसम्म व्यक्तिको जीवनशैली बदलिएला तर देशको परिस्थिति बदलिँदैन । देश बनाउन त उमेर होइन दृढ इच्छा शक्ति भएको, नवीन दृष्टिकोण बोक्ने, विचारमा युवापन र युवामन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्रले खाजिरहेको छ । यो राष्ट्रले खोजेको नेतृत्व हामीमध्येबाट नै हामी युवाहरूले विकल्प दिन सक्नुपर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari