२०७६ मंसिर २१, शनिबार
Close
Badalpari सोमबार, भाद्र ३०, २०७६    १५:५४:१६

अभिनेता दयाहाङ राईको नजरमा बाबुको परिभाषा परिवर्तन भइरह्यो। बच्चा हुँदाको बाबुबारेको उनको सोचाइ ठूलो भएपछि बदलियो। आफू नै बाबु बनेपछि झन अर्कै भयो।

दयाहाङलाई समयअनुसार ती सबै ठीक लाग्छन्।

‘बच्चा बेलामा बाबुभन्दा थुप्रै आयाम आउँदो रहेछ। पहिला हिरोजस्तो लाग्दो र’छ। मेरो बाउ सबैथोक जान्दछन्, सबै गर्न सक्दछन् लाग्ने’, उनले भने, ‘फेरि एउटा अर्को समय आयो जहाँ बाउ काँतर लागे। किनभने बच्चा हुँदा एक समय मेरा मागहरू पूरा हुन्थे त्यसपछि अर्को समय आयो जब मेरो मागहरू बाबुबाट पूरा हुन छोडे।’

सानो हुँदा सायद दयालाई ठूला लागेका माग दयाका बाबुका लागि उति ठूला थिएनन्। समयक्रममा अघि बढ्दै जाँदा ठूला हुँदै गएका दयाका माग फेरिए र इच्छाको आयतन बढ्दै गयो, बाबु तिनलाई पूरा गर्न नसक्ने हुँदै गए अनि त दयाले बाबुको मुखबाट सुन्न थाले- हुँदैन, अहिले बेला भएको छैन।’

दयाका बाबु अहिले भौतिक दुनियाँमा  छैनन्।

यो संसारमा नभए पनि दयाका लागि बाबु भगवान् हुन्। भगवानकै रूपमा उनको सम्झना भइराख्नेछ दयालाई।

Image may contain: 3 people, including Dayahang Rai, people smiling, people standing, cloud, sky, outdoor and nature

आफैं बाबु हुँदा…

दयाका एक छोरा छन्। उनको नाम सम्दुहाङ हो, सात वर्षका भए।

छोरा जन्मिएको दिन सम्झदाँ, आफू बाबु बनेको दिन सम्झिदाँ दयालाई पीडा हुन्छ।

उनका लागि त्यो निकै पीडादायी दिन थियो।

किन?

‘छोरो जन्मेको दिन मैले आफू बहुत गैरजिम्मेवार बाउ भएको अनुभव गरें’ उनले सम्झिए, ‘बाबु बन्नका डाक्टरले दिएको दिन आउन अझै १२-१५ दिन बाँकी थियो।  सिनेमाको सुटिङ सकेर म घर फर्केको थिएँ। १२-१५ दिनको समय भएकाले बाँकी दिनहरू श्रीमतीसँगै बस्न चाहेको थिएँ। तर श्रीमतीलाई त्यही राति  बेथा सुरू भयो।’

उनले कुदाउँदै अस्पताल लगे। डाक्टरले भने- सिजरिङ गर्नुपर्छ।

७० हजार रुपैयाँ धरौटी राख्नु पर्ने भयो, दयाको खल्तीमा थियो जम्मा ३ हजार।

३ वटा सिनेमाबाट पाउनु पर्ने सबै पारिश्रमिक नपाएकाले उनी रित्तै थिए।

बच्चा हुन लागेको कारण देखाउँदै लिनु पर्नेहरूसँग उनले पैसा नमागेका पनि होइनन् तर सिनेमा लाइनको लेनदेन अदालतको पेसी सरिरहने मुद्दाभन्दा कम्ति लामो हुन्न। पारिश्रमिक उठाउन एक प्रकारको महाभारत नै पर्छ।

‘मागेको थिएँ तर पाएको थिइनँ। भोलि-पर्सि आउला भनेर बसेको थिएँ, पैसाभन्दा पहिला समस्या आयो,’ उनले भने, ‘हरे! मत गैर जिम्मेवार बाउ बन्दै रहेछु।’

साथी आफन्तीसँग मागेर काम चलाउने सोचे।

यस्तैमा झ्वाट्ट उनले केही सम्झे र मण्डला थिएटरका विजय बराललाई फोन लगाए।

नाटकका लागि केही सामान किन्न उनले ३ दिनअघि विजयलाई पैसा दिएका थिए।

सोधे-विजय, मैले दिएको पैसा बैंकमा राख्यौ कि हातमै छ?

उताबाट जवाफ आयो, ‘हातमै छ।’

धन्न पैसा विजयसँगै रहेछ।

‘मलाई भाग्यले साथ दियो, मसँग एटिएम पनि थिएन। बैंकमा डिपोजिट भएको भए त बिहान बैंक नखुलेसम्म केही गर्न सकिदैनथ्यो। हुन त आफन्तसँग माग्थें होला तर त्यो बेला आफूलाई आफैसँग लाज भयो। कुनै योजना नबनाई बसेकोमा आफूलाई तुच्छ ठानें म कस्तो मान्छे रहेछु भनेर,’ दयाले भने।

सर्जरीको गर्जो त मण्डलाको पैसाले टारे। त्यसपछि पनि पैसा चाहियो।

यस्तैमा एकजना पत्रकार साथीको फोन आयो। कुरामा बाबु बनेको खबर साटासाट भयो।

समाचार छापियो, ‘दया बाबु बने।’

त्यसपछि पैसा दिन पर्ने साथीहरू पैसा बोकेर हस्पिटलमै आए।

त्यो घटनापछि उनी चनाखो हुनुपर्ने हो। थप होसियार र तयार हुनुपर्छ बनेर उनी परिवर्तन हुने पर्ने हो तर अहँ, दया सुध्रिएनन्।

‘जुर्दो र’छ त। सबै कुरा मिल्दो र’छ। त्यो बेला लाचारजस्तो भए पनि, त्यो पचेछ। आखिर चल्दो र’छ त भनेर। त्यसैले पनि म असल बाबु होइन’, दयाले फिस्स हाँस्दै भने।

आफ्नो लाचारीलाई पचाए पनि दयाभित्र एउटा डरले घर गरेको छ।

कस्तो डर?

‘छोरो ठूलो भएपछि, बुझ्ने भएपछि आफ्नो बाबुको यस्तो गैरजिम्मेवार चाला सुन्दा के सोच्ला? मलाई यसको ठूलो डर छ। छोरो जन्मिँदा श्रीमतीले त्यो पैसा नभएको कुरा आमा बनेको खुसीले त्यतिबेला त छोपिन्। मन दुखेको बेला त्यो कुरा कहिँ न कहिँ त आउँदो होला। यो त छोराले नि बुझ्ला। पैसा त जुट्यो, जुटाइयो तर म कति बेपरवाह रहें, त्यो त फेरिन्न नि,’ उनले आफ्नो डरको कारण खुलाए।

आफू बाबु  बनेपछि दयाले आफ्नै बाबुलाई कसरी सम्झन्छन्?

भन्छन्, ‘मेरा लागि बाबु भगवान् हुन्।’

दयालाई लाग्छ, एउटा बाबु हरेक उपनामको योग्य मान्छे हो।

‘लाचार पनि, हिरो पनि र कायर पनि। एउटा विभिन्न आयामको मान्छे। किनभने सन्तानमाथि यति मोह हुन्छ नि, त्यो मोहले सन्तानलाई खुसी राख्ने चाहना हुर्काउँदो रहेछ। उसको इच्छा पूरा गर्ने कि उसलाई स्वतन्त्र छोडिदिने भन्ने हुँदो रहेछ।’

उनले फेरि आफ्ना बाबु सम्झिए।

‘केही समयपछि मेरो बाबुले मलाई स्वतन्त्र छोडिदिनुभयो। म के पढ्दैछु, कतिमा पढ्दैछु, यो गर त्यो गर-नगर कहिल्ले भन्नु भएन। त्यो नगर्दा मैले आफ्नै रोजाइमा एउटा बाटो समातें।’

यसरी एक्लै बाटो समात्दा दया डराए पनि।

‘त्यसरी छोडिँदा म डरमा पनि रहें। त्यतिखेर मलाई कतै मैले बाबुबाजेको नाक काट्ने काम त गर्दिनँ भन्नेसँगै मेरो मनमा उहाँहरूको इज्जतमा दाग लगाउनुहुन्न भन्ने सोच पलायो। त्यसले मलाई अलि जिम्मेवार बनायो। त्यो हेर्दाखेरि  हरेक बाबु मेरा बाउजस्तै हुनुपर्छ भन्ने लाग्छ।’

दयाको मनमा आफ्नो बाबुको फिरन्ते चरित्र सधैँ  घुम्छ।

‘बडो ढुक्कको मान्छे हुनुहुन्थ्यो। उहाँसँग सायद थुप्रो सपना थियो कि जस्तो लाग्छ। परिवारमा कसैको जागिर थिएन, पेन्सन पनि थिएन। छोराछोरी पढाउनु पनि छ। यस्तोमा उहाँलाई पीडा त थियो होला- पैसा कहाँबाट ल्याउने भन्ने। तर पनि उहाँ एक किसिमको बिन्दास मान्छे। पीडा हुँदा सायद उहाँ त्यसलाई डुलेर भुल्यादिनुहुन्थ्यो होला। कहिले १०-१५ दिन  त कहिले महिना दिनसम्म घर आउनुहुन्थेन।’

यसरी घरबाट हराएका दयाका बाबु छोराछोरीसँग भन्दा पनि आमासँग लजाउँदै घर छिर्थे। बाबु आमासँग लजाउँदै घर छिरेको दयालाई धेरै याद आइरहने कुरा हो।

‘बुबा त्यसरी बाहिर केही खोज्न जाँनु हुन्थ्यो होला जस्तो  लाग्छ। त्यसरी जाँदा केहि गर्न सक्नु पनि भएन होला । त्यसैले रित्तै हात फर्किनुहुन्थ्यो। सायद लजाएपछि त्यत्रो दिन हराएको अपराधको माफी आमाबाट मिल्थ्यो होला।’

आफ्ना बाबुको यस्तो विश्लेषण बोकेका दयालाई नेपाली समाजमा ‘बाबु’ भनेको एउटा ठूलो जिम्मेवारीको पहाड बोकेको भरिया जस्तो लाग्छ।

सन्तान प्रेमको चर्चा हुँदा सबैभन्दा अगाडि आमा आउँछिन्। बाबु कहिकतै उपेक्षित जस्तो वा हराएको जस्तो लाग्छ दयालाई।

बाबु किन यसरी छायाँ पर्छ?

दया यसो भन्छन्।

‘आमा भनेको सबथोकै हो। बाबुको भूमिका पनि उत्तिकै हुन्छ। त्यसमा पनि आमा चाँहि सागर नै होला जो कहिले सुक्दै सुक्दैन। किनभने बच्चा जन्मिनु अगाडिदेखि हरेक समय, धर्तीमा रहुन्जेलसम्म नजिक हुने भनेको आमासँग हो’ उनले भने, ‘बाउसँग गर्नु पर्नेचाहिँ थुप्रो गुनासो हुन्छ तर आमासँग कहिल्यै हुन्न। उनी महासागर नै भइराख्छिन्। केही चाहिए,आमाले देखाउने बाउ हो। त्यसले गर्दा पनि बाउकोचाहिँ अनेक उपनाम जोडिदै जाने रहेछ। बाउसँग बहुत ठुलो गुनासो रहिरहन्छ। बाउसँग कुरा उति साटिन्न जति आमासँग साटिन्छ। त्यसैले आमासँग केही रहन्न तर बाबुसँग गुनासो रहिरहन्छ।’

दयालाई आफ्नो बाबुप्रति सम्मान त छँदैछ, त्योसँगै गुनासो पनि थियो।

‘मेरो बाउ यति गैरजिम्मेवार हो कि जसले छोरा के पढ्दैछ, के खाँदैछ, के गर्दैछ , श्रीमती के गर्दैछ कहिले सोधेन।’

तर बाबु बनेपछि उनले गुनासो सँगै बाबु हुँदा के भइन्छ भन्ने कुरा पनि महशुस गरेका छन्।

मनमा यति धेरै कुराहरू हुँदा रैछन कि तिनलाई बाँड्न नसकेर बाबु भाग्दै हिँड्को रहेछन् भनेर दयाले बुझिसके।

‘भागिदो रहेछ। बाउहरू भाग्दा रैछन्, बुद्ध पनि त्यहि भएर भागे कि!’

दयालाई लाग्छ- पुरूष अहमले त्यो साट्न दिँदैन। पितृसत्तात्मक सोचमा पुरूषले हार्नु हुन्न भन्ने सोच हाबी भएकाले बाउहरू भाग्दा रहेछन्।

‘आफैं बाउ बनिसकेपछि मैले मेरो बाउ सारा पीडादेखि भागेका रहेछन् बुझें। जो यसरी एक्लैमा रोए होलान्। जे होस् बाउ र छोराबीच एकअर्काप्रति गुनासो रहिरहन्छ।’

बाउ छोरा भनेको एउटा पुस्ताको ग्याप हो। त्यसमा मतभिन्नता हुनु नौलो लाग्दैन दयालाई।

त्यस्तै दयालाई छोरा आफूसँग भन्दा उसकी आमासँग नै नजिक होस् भन्ने लाग्छ।

किन?

‘किनकी बाबुहरू स्वार्थी हुन्छन् नि त। जो धेरै कुराको झन्झट बेहोरिरहन चाहँदैनन्,’ दयाले सजिलै भने।

दयालाई आफ्नो बाबुसँग जस्तो गुनासो थियो उनको छोरालाई पनि उनीसँग गुनासो छ। मात्रामात्र केही तलमाथि होला।

‘उसका लागि मैले गरिदिनु पर्ने कामको लामो लिस्ट छ जुन समयका कारण मैले पूरा गर्न पाएको छैन। हुर्कँदै गरेकाले उसका इच्छाहरू फेरिरहन्छन्। कति पुरानो भएर उसको चाहबाट हराइसकेको हुन्छ, कति नयाँ समय नयाँ बनेर फेरि थपिएको हुन्छ’ दया भन्छन्, ‘बाबुले गरेन भन्ने गुनासो छ उसलाई। कुनै दिन मैले उसको चाहना पूरा गरिदिनु नै छ। उसले भनेको समयमा ती नगरेर पछि गरिदिंदा पनि ऊ खुसी त होला तर उसको गुनासो कहिँ न कहिँ मप्रति रहनेनै छ।’

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari