२०७६ मंसिर २१, शनिबार
Close
रमेश भट्टराई ‘सहृदयी’ सोमबार, भाद्र ३०, २०७६    १४:५५:२६

नेपालमा हाल आएर सुसाइट नोट लेखेर आत्महत्या गर्ने घटना फिल्मी शैलीको सोचजस्तो लाग्छ । विद्यार्थी बालक, सिंहदरबारभित्रका नायब सुब्बा बच्चुराम केसी, मालपोत कलङ्कीका कर्मचारी हरि आचार्य, गत असार ३ मा समता अस्पतालमा विमला तामाङको घटनादेखि पत्रकार शालिकराम पुडासैनी लगायतका थुप्रै घटना समान प्रकृतिका देखिन्छन् ।

२०७४ भदौ १ गतेदेखि लागू भइरहेको मुलुकी फौजदारी अपराध संहितापछि नेपालमा १ सय ३१ जनालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरीद्वारा नियन्त्रणमा लिइएको पाइएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भएमा संहिताको दफा १८५ को उपदफा २ मा उल्लेख भए अनुसार ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्मको कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गरिने छ’ भनिएको छ । आत्महत्याजस्ता घटनाले मर्ने मरिसक्छ, बाँच्नेले दुःख पाउनुपर्छ । पत्रकार रवि लामिछानेको नाम गाँसिएको पुडासैनी मृत्यु प्रकरणमा सडकमा जनता उत्रनु देखिएको र पृथक् उदाहरण हो ।

विडम्बना, मर्ने व्यक्ति प्राथमिक स्रोत हो तर ऊ मरिसक्छ । सुसाइट नोटमा मात्रै सत्यता अडिन्छ भन्नलाई पनि अप्ठ्यारो हुन्छ । मर्नेले निर्दोष मान्छेको नाम किटानी गरिदिए कसरी प्रमाणका आधारमा दोषी ठहर्याउने, चुनौतीको विषय हो । एकातिर आत्महत्या गराइएको हुन्छ या आफै गरिएको भन्ने विषयले अनुसन्धाताका लागि समस्या उब्जाइदिन्छ । घटना संवेदनशील हो तर स्वयम् पीडित नै मरिसकेको हुन्छ ।

मान्छेलाई जीवनसँग असन्तुष्टि किन हुन्छ ? किर्केगार्ड भन्छन्ः ‘प्रत्येक व्यक्ति कुनै वस्तु घटनालाई स्वतन्त्र रूपले रोज्ने, छान्ने र निर्णय गर्ने गर्छ र आफ्ना निर्णयका परिणामले ऊ दुःख, सुख भोग्न अग्रसर हुने गर्छ । यसकारण आफ्नो निर्णयको उत्तरदायित्व वहन गर्नु नै व्यक्तिको अस्तित्वको चिन्ह हो ।’ जब मान्छेले जीवनको अस्तित्व नै बिर्सन्छ तब ऊ विसङ्गतिको चरम् शून्यवादमा विलय हुन्छ । मान्छेले जीवनको अमूल्य रहस्यलाई खोतल्ने हो भने मानिसमा बाँचुन्जेल सबै कुराको सम्भव छ ।

मान्छेले सोच्न सक्छ, विचार गर्न सक्छ, गल्ती हुन्छ नै तर सुधार गरेर अझ बढी उन्नति गर्न सक्छ तथापि मृत्यु भएपछि बीउबिनाको खेत बन्छ । शरीर खरानी हुन्छ, सबै सम्भाव्यता खत्तम । जीवन त अनमोल छ, जसलाई संसारको दौलतले किन्न सकिन्न रहेछ । धन, सम्पत्तिको चाहना, आवश्यकताको लामो सूची सबै मानिसले यो आधुनिक संसारमा स्वार्थका लागि जन्माउँदै लगेको एउटा प्रपञ्च हो । किनकि पैसा र पैसा छाप्ने मेसिन पनि मानिसकै बुद्धि हो । अतः जीवन पैसा होइन तर जीवन पैसालाई पनि तुच्छ बनाउने अमूल्य निधि हो ।

जीवन कसलाई प्रिय लाग्दैन र ? आज जे जति आत्महत्याका घटना नेपालमा भइरहेका छन् ती गरिबी, बाध्यता, दैनिक जीवनका जटिलता, क्रोध, रोगदेखि कतिपय अवस्थामा वंशाणुगत प्रभाव पनि एउटा कारण बनेको अनुसन्धानले देखाएको छ । असह्य प्रताडना वा दबाब भोगेका, कम सुत्नेदेखि डिप्रेसनले मानिसलाई आत्महत्या गराएको देखिन्छ । यस्ता घटनालाई फिल्मी कथाले पनि केही प्रभाव पारेको हुन्छ तर पछिल्लो समयमा नेपाली नाटकहरूमा यस्ता प्रकृतिका कथावस्तु पहिलाको जसरी भेटिँदैनन् । यो राम्रो कुरा हो ।

भष्टाचारको काण्डमा मुछिएका सरकारी कर्मचारीहरूको आत्महत्यालाई केलाउने हो भने जागिर पाउनुले मात्रै पनि यस्ता घटनालाई कम गर्ने रहेनछन् बरु सचेतता र सत्यताले प्रभाव पार्ने रहेछ । तर, निर्दोषले न्यायको तराजु असन्तुलित भएको देखेर पनि सायद निस्सारता बोध गर्दा हुन् । यद्यपि जीवनकै उत्सर्ग गर्नु मान्छेको बौद्धिकताभन्दा तल्लो स्तरको सोच हो किनकि जीवन हार्नका लागि पाइएको होइन । तर न्यायको आँखामा पट्टी बाँधिनु हुन्न मात्र न्यायाधीशको आँखामा बाँधियोस् । न्याय मन्दिर कुनै पनि हदमा राजनीतिगत अखडा बन्यो भने सामाजिक सुरक्षा र व्यक्तिगत स्वतन्त्रताका सवालमा जनताले राज्यसँग भरोसा गर्न नसकेर निराशा छाएको हुनसक्छ । न्यायालय मात्रै यस्तो स्थान हो जहाँ अन्त कतै नपाइएको सत्यताको आशा बचिरहन्छ । यो जनताको भरोसाको धरोहर हो र भइरहनुपर्छ पनि ।

उत्तरआधुनिक अवस्थामा यान्त्रिक जीवन भोगिरहने इज्जतदार कलाकार, सामाजिक सञ्जाल र आम दुनियामा छवि कमाएकाहरू नै बढी असन्तुष्ट देखिन्छन् । विसङ्गत सोच नभई मानिस आत्महत्याको स्थितिमा पुग्दैन । आशाको कुनै पनि आधार नदखेरै मानिस अमूल्य जीवनलाई फाल्नतिर लहसिन्छ तर चाहेर पनि जीवन पाइँदैन भन्ने कुरालाई बुझ्ने हो भने यस्ता घटना घट्दै घट्दैनन् । मूलतः आध्यात्मिक प्रकृतिका मान्छेले मात्र आत्मज्ञान र जीवनको रहस्यलाई भित्रबाटै बोध गरेको बुझिन्छ । तिनले त आत्महत्या होइन जीवनको सार्थकता र सफलतालाई मात्र सोचेको देखिन्छ । मान्छे विभिन्न व्यथाहरूले घेरिइरहँदा एउटा व्यथा मृत्यु हो जसबाट ऊ विराट शून्यमा हराइरहन्छ । मान्छेले निस्सारतामा मृत्युको विकल्पलाई त चुन्छ तर मृत्युकै मात्र अन्तिम विकल्प खोज्ने हुनाले आत्महत्या गर्ने मान्छेलाई कायर हुन्छ । अब मानवीय संवेदनाभित्र पसेर हेर्ने हो भने पनि मानिस आजको संसारमा लगभग भोकै रहनुपर्दैन न्याय माग्न जाने निकायहरू बनिसकेका छन् ।

जीवन एक पटक पाइन्छ । चाहेर पनि अर्को जीवन पाइने अपेक्षा पूरा हुने कुनै यकिन छैन । तसर्थ जीवनको अर्थ मानिसका लागि जिउने अवसर हो । दुःखलाई यो संसारले बनाएको हो । कसैले जन्मदै सुख र दुःख बोकेर आएको हुँदैन । जाँ पाल सात्र्र भन्छन्– संसारका वस्तु मूल्यहीन हुन्छन् तर तिनलाई मूल्य प्रदान गर्ने काम मानिसले गर्छ । वास्तवमा मेरो जीवनका लागि म नै जिम्मेवार हुन्छु । कार्यको बोझ संसारका लागि होइन असल कार्यको चयनका लागि गरिने सङ्घर्ष मात्र हो । किनकि संसार हुनलाई एउटा क्षण मात्र हो । तर संसारमा हामी नचाहेरै जन्मन्छौँ र नचाहँदैमा मर्छौं ।

हामीले संसारका धेरै कुरालाई जान्न पनि चाहन्छौँ त्यो मानिसको प्रकृति हो तर एउटा विषयलाई पनि पूर्णताका साथ जान्न सक्दैनौँ । त्यसैले हामी यो संसारमा अज्ञानता नै अज्ञानतामा बाँच्न विवस छौँ । यो संसारको रीत नै हो । यद्यपि हामीले केही जानेनौँ भनेर आत्महत्या गरे पनि केही जान्दैनौँ । अरू केही आधार नदेखेर स्वेच्छिक तबरले आत्महत्या गर्नु भनेको जीवनभरिको ऐतिहासिक पराजय हो । यो समस्याको हल होइन कायरपना मात्र हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari